ओलीले भने- अर्कै पार्टीकाले पनि देश बनाउन एमाले नै नभई नहुने भन्न थाले

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने दाबी गरेका छन् ।

शनिबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले देशलाई बिगार्न नदिन र विना व्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकार चाहिने बताएका हुन् ।

“मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौं। अब त्यो भ्रममा रहनुहुँदैन । साना-साना स्वार्थ लिएकाहरुले हामी विरुद्ध भ्रम फिंजाएका छन् । त्यस्तो भ्रममा पर्नुहुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाहरुले साथ दिनुपर्छ ।”ओलीले भने ।

उनले एमालेभन्दा बाहिरकै एक जनाले आफूलाई केही दिनअघि ‘देशलाई ओरालो लाग्नबाट बचाउनका लागि एमालेकै सरकार चाहिने’ बताएको सुनाए ।

‘अस्ति मलाई एमालेभन्दा बाहिरको एक जना साथीले के भन्नुभयो भने यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने, यस देशको अर्थतन्त्र र राजनीति बिग्रन नदिने हो भने पनि नेकपा एमाले सरकारको नेतृत्व नभई नहुने रहेछ,’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने ।

साथै, उनले युवाहरूलाई आफ्नो पार्टीमा एकीकृत हुन आग्रह गरे ।

‘म युवाहरुलाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ । आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ,’ उनले भने, ‘मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इञ्जिनियर हुँदैनन् । मिहिनेत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईंहरुले बुझ्नुपर्छ ।’