काठमाडौं: नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गुठीको समस्याबाट देशैभर लाखौं नागरिक प्रभावित रहेको भन्दै समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोलेका सांसद सापकोटाले गुठीसँग सम्बन्धित समस्या समाधानका लागि गहिरो अध्ययनको आवश्यक रहेको औलाएका छ्न् ।
उनले गुठी विधेयक ल्याएर समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छ्न् ।
उनले भने- “जसको चोट उसैलाई सोध भनेजस्तै गुठीको पीडा भोग्नेलाई बढ्ता थाहा छ, यो पीडाबाट देशैभरका लाखौं नागरिक प्रभावित बनेका छन् ।”
उनले यससँग सम्बन्धित समस्याको गहिरो अध्ययन गरी समस्या समाधानका लागि गुठी विधेयक ल्याउन सभामुखमार्फत सरकारसँग माग पनि गरे ।
उनले आफ्नो निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा पनि गुठीका धेरै समस्या रहेको बतए । सिन्धुपाल्चोकमा १४६ वटा नाममा गुठी दर्ता भएको उनले जनाए ।
सिन्धुपाल्चोक मेलम्चीको फटकशिला, लिशंखुको अत्तरपुर सिग्रे, बलेफीको फुल्पिङकोट फुल्पिङ डाँडा, माङ्खा, त्रिपुरासुन्दरीको तौथली धुस्कुन, बाह्रबीसको मानेसरा, जुगलको गुम्बा, सुनकोशीको पाङ्ग्रेटार, टेकनपुर, ठाकर्पा, कालिका लगायताक स्थानमा गुठीका समस्या छन् ।” उनले भने ।
उनले यस्तो समस्या देशैभर रहेका कारण लाखौं नागरिक प्रभावित बनेका जिकिर गरे ।


















