काठमाडौं: पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् ।
यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ ।
आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने- “पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ। जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।”
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वमन्त्री ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए । तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे । राइड सेयरिङको पक्ष लिंदै उनले भने- “यो सम्झौता राम्रो भएन । के आधारमा गरियो ?”
उनले विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको आपत्तीजनक भएको जनाए। यो ढंगले जनताले सेवा नपाउने उनले बताए ।


















