ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धित सचेतना मूलक कार्यक्रम सम्पन्न

काठमाडौं: काठमाडौंको धापासीमा स्थित ग्राण्डी अस्पतालमा ढाडको बांगोपनासंग सम्बन्धित स्कोलियोसिस बारे जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफ़न्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

संसारभर अंग्रेज़ी महीनाको जूनलाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा बिभिन्न कार्यक्रम गर्दै मनाईंदै आइएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरेपनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए । जन्मजात बाहेक नशा सम्बन्धि समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा. विजुक्छेको भनाई छ ।

स्कोलियोसिसको समस्या छोराहरुको तुलनामा छोरीहरुमा बढी मात्रामा हुने गरेको पाईन्छ । एक जना छोरामा देखियो भने सातजना छोरीहरुमा यो समस्या देखिने सम्भावना रहेको डा. विजुक्छेले जानकारी दिए ।

स्कोलियोसिसको समस्या घरका बुबाआमा र स्कुलका शिक्षक तथा साथिहरुले बढी मात्रामा पत्ता लगाउने गरेका छन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि – अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका समस्या रहेको उनले बताए।

डा. विजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरुको फोक्सो र मुटुको कामलाई असर पुर्याउने भएकाले समयमै उपचार गर्न आवश्यक भएको बताए ।

कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफ़न्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीड़ा साथै उपचार पश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका बिषयमा आफनो धारणा राखेका थिए ।

नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो ।

जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको छ । ग्राण्डी अस्पतालले पनि हरेक बर्ष बिभिन्न कार्यक्रम गर्दै स्कोलियोसिस बारे जनचेतना फैलाउँदै आएको छ ।