महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं: साफ महिला यु–२० च्याम्पियनसिपको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन्।

यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले खेलाडीको संख्या घटाएर ३० मा सीमित गरेका हुन्। अमिता भुल, अवानी राजेश्वरी, गायत्री मल्ल, मरिना लामा, प्रतीमा शर्मा, रोजिता विष्ट,सविता मण्डल, संगीता अधिकार,  सुनिता बिके, सुनिता सुनार बाहिरिएका हुन्।

गुरुङले यसअघि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। अहिले छनोट गरिएका ३० खेलाडी साफ च्याम्पियनसिपको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।

प्रतियोगिता आगामी जुलाई ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले गत बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ। नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ।

नेपालले १३ जुलाईमा घरेलु टोलीसँग खेल्नेछ। यस्तै, १७ जुलाईमा श्रीलंका र २१ जुलाईमा पुन: बंगलादेशसँग खेल्नेछ। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।