काठमाडौं: काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक अनिश्चित बनेको छ ।
बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो तर, हालसम्म बस्न सकेको छैन ।
समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । तर, बैठकबारे प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पनि कुनै जानकारी नभएको उनले बताए ।
पछिल्लो समय मेयरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नै ‘बाइकट’ गरेर बैठक राख्न खोजेको चर्चा पनि चलेको छ ।
मेयर बालेन्द्र साह (बालेन)को सचिवालयका अनुसार, मेयरले पहिलेदेखि नै कोसिस गर्दै आएको तर, अन्य प्रतिनिधि उपस्थित नहुँदा बैठक बस्न सकेको छैन । “मेयरसाबले पहिलेदेखि नै कोसिस गरिरहनु भएको थियो । तर, हालसम्म पनि बैठक बस्न सकेको छैन,” सचिवालयले बतायो ।
महानगरका एक अधिकारीका अनुसार, गुरागाईंले तोक लगाएका फाइलहरू मेयरले अघि बढाउने र मेयरले अघि बढाएका फाइलहरू गुरागाईंले रोक्दैनन् ।
बैठक समेत बस्न सकेको छैन । अन्य महानगरपालिकामा बजेट बनाउने चटारो चलिरहँदा काठमाडौंमा भने राजनितिक सहमति नै जुट्न सकेको छैन ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।


















