नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन

काठमाडाैं: हरेक वर्षको भलभल अष्टमीका दिन नवदुर्गा गणको देहावसान हुने विश्वाससहित नवदुर्गाको विलाप नाचसँगै जीवित देवता नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन गरिएकाे छ ।

गत बुधबार नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई ब्रह्मायणीमा विसर्जन अन्तिम संस्कार गरिएको हो ।

देव गणको मुकुन्डो जलाउनुलाई नवदुर्गा देवगणको अन्त्येष्टि मानिन्छ । अन्त्येष्टि क्रममा भलभल अष्टमीमा नवदुर्गा गण बिहानै द्योछें (देवता घर)बाट बाहिर निस्केर विलाप नाच प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।

प्रत्येक वर्ष भलभल अष्टमीमा देहावसान भएका नवदुर्गा देवगणको दशैँमा पुनः जन्म हुने र जन्मसँर्गै नयाँ मुकुन्डो तयार गरी नवदुर्गा गणले लगाउँछन् ।

घण्टाकर्ण चतुर्दशी अर्थात गठेमङ्गलका दिन नवदुर्गा गणले प्रयोग गर्ने मुकुटलाई विधिपूर्वक प्राणप्रतिष्ठा गरेपछि त्यसमा देवता प्रविष्ट हुन्छन् भन्ने मान्यता छ ।

यो नाचमा भैरव, महाकाली, वाराही, ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव र दुई सिंह (नन्दी–भृङ्गी)सहित १३ जना पात्र रहेका हुन्छन् ।

तन्त्रमन्त्रद्वारा भक्पुरवासीलाई सुरक्षा प्रदान गर्ने नवदुर्गा गणको देहावसानपछि रोगव्याधि तथा भूतप्रेतको प्रकोप बढ्ने जनविश्वास छ ।

प्रकोपबाट बच्न नवदुर्गा देवगणबाट दिइने पासुका (धागोको माला) लगाउने परम्परा रहिआएको छ ।