कैलाली: वर्षायाम सुरु भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् ।
जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् ।
मनसुन सुरु भएसँगै नदीहरूमा पानीको सतह बढ्न थालेका छन् । नदीको सतह बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका छ्न् ।
डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए ।
उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् ।
डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् ।
उनले भने- ‘भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्दछन् । यसरी तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन् ।’
यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेका छन् ।
स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने डल्फिन संरक्षण केन्द्रको भनाइ छ ।
‘यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ ।
डल्फिन संरक्षण केन्द्रका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् ।
हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ ।
पर्यटनका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको डल्फिन संरक्षणका लागि यस क्षेत्रमा संरक्षण र प्रवर्द्धनका लागि विभिन्न काम भइरहेका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छ्न् ।
साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले पनि संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । साथै, यहाँ चारपटक डल्फिन महोत्सवको आयोजनासमेत गरिएको थियो । कर्णालीमा विसं २०५४ मा पहिलो पटक डल्फिन देखिएको थियो ।
मनसुनको याम सुरु भएपछि डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्याण्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिक नेपाल आउने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।



















