दातृ निकायको सहयोग कटौतीसँगै एचआईभी अन्त्यको लक्ष्य कठिन, नयाँ संक्रमित बढ्न सक्ने अनुमान

काठमाडौं: एचआईभी / एड्स रोकथाम र नियन्त्रणका लागि दातृ निकायहरूबाट प्राप्त हुँदै आएको सहयोग कटौतीसँगै नयाँ संक्रमितको जोखिम बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य पैरवी समाजले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा ‘हाम्रो समान पहुँच’ संस्थाकी एचआईभी संक्रमित तथा अधिकारकर्मी ज्योति थापाले दातृ निकायको सहायता रोकिँदा एचआईभी संक्रमण नियन्त्रणका लागि आवश्यक साधन कन्डम र प्री–एक्सपोजर प्रोफिल्याक्सिसको अभाव हुनसक्ने बताइन् । उनले भनिन्- संक्रमित व्यक्तिले प्रेभ खान नपाएपछि स्वस्थ पार्टनर संक्रमित हुन पुग्छ,’ कन्डम पनि छैन, प्रेभ पनि खान पाइएको छैन भने अवश्य संक्रमण बढ्छ।”

त्यस्तै, उनले कन्डमजस्ता निःशुल्क सामग्रीले संक्रमण दर घटाउन भूमिका खेलेको तर बजेट कटौतीपछि यस्तो सेवा रोकिँदा पुनः जोखिम बढ्ने खतरा बढेको पनि औंल्याइन्।

यसैगरी, राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्बेश शर्माले दातृ निकाएबाट प्राप्त हुँदै आएको आर्थिक सहयोग कटौती हुँदैमा आत्तिनु पर्ने अवस्था नरहेको बताए । उनले सधै बिदेशी सहयोगमा भर परेर नहुने बताउँदै सरकार आफै स्रोत जुटाउन आवश्यक भएको आउँलाए । उनले आर्थिक सहयोग कटौती हुँदैमा एचआईभी अन्तर्गतका कार्यक्रम प्रभावित नभएको बताउदै अन्य संस्थाहरु पनि राष्ट्रिय स्तरमा आए सहयोगका लागि आफुहरु तयार रहेको प्रष्ट परे ।

राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार हाल नेपालमा एक वर्षमा ६१४ जना नयाँ व्यक्ति एचआईभीबाट संक्रमित हुने गरेका छन् । त्यस्तै, ५६९ जनाको मृत्यु हुने अनुमान छ।

यसैगरी हाल देशभर ३० हजार भन्दा बढी एचआईभी संक्रमित रहेका छन्। तीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला छन्। बालबालिका (१४ वर्षमुनिका) मा संक्रमितको संख्या १,०५८ रहेको छ । आमा बाट शिशुमा संक्रमण सरेर भएको  संख्या २२७ रहेको छ ।

प्रदेशतरुपमा संक्रमितको संख्या हेर्दा क्रमश सबैभन्दा बढी बागमती प्रदेश, मधेस र लुम्बिनी प्रदेश रहेका छ्न् ।

केन्द्रका अनुसार कारागारमा रहेका व्यक्ति, सूइ प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, ट्रान्सजेन्डर, र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू एचआईभीको उच्च जोखिममा छन्।

नेपालले सन् २०३० भित्र एचआईभी/एड्सलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।