यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने अनुमान

काठमाडौं: यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुन सक्ने अनुमान गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि हुने अनुमान गरेका हुन् ।

महाशाखाले डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन आग्रह समेत गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम हुने गर्दैछ ।

रोग नियन्त्रण महाशाखाका अनुसार  हालसम्म ७३ जिल्लाबाट १६ सय को हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साथै बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नहुँदा, परीक्षण भए पनि रिपाेर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको पनि महाशाखाको भनाई छ ।

महाशाखाका अनुसार १० हजारको हाराहारीमा डेङ्गुका बिरामी समाजमा रहेका छन् ।

डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि पाँच वर्षीय बहुनिकाय योजना तयार भई स्वीकृतिका लागि अन्तिम अवस्थामा रहेको महाशाखाकाले जनाएको छ ।

डेङ्गुबाट हुने मृत्युको जोखिमलाई कम गर्न निजी तथा सरकारी अस्पतालका १७ सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मी डेङ्गु रोगको राष्ट्रिय उपचार पद्धतिका बारेमा अभिमुखीकरण गरी अस्पताललाई तयारी अवस्थामा राखेको महाशाखाले दाबी गरेको छ ।

यसैगरी, महाशाखाले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियानलाई चुस्त दुरुस्त बनाउने काम अगाडि बढाएको पनि बताएको छ ।

त्यस्तै, डेङ्गु परीक्षणका लागि यो आर्थिक वर्षमा ५७ हजार किट प्रदेश तथा स्थानीय तहमा वितरण गरिसकेको छ । हाल ३० हजार किट प्रदेशमा पठाई सकिएको र २५ हजार किट स्वास्थ्य सेवा विभागमा मौज्दात रहेको महाशाखाले बताएको छ ।

डेङ्गु नियन्त्रण गर्न व्यक्ति स्वयं पनि जिम्मेवार भएकाले डेङ्गु नियन्त्रण गर्ने उपाय अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ ।