काठमाडौं: नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले दोस्रो महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कने बताएकी छन् ।
आगामी अगष्ट ३ देखि १० तारिखसम्म भारतको हरियाणास्थित मोरमाजरामा महिला अब विश्वकपको दोस्रो संस्करण हुँदै छ । यसै विश्वकपमा पदक जितेर फर्कने नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमतीले बताएकी हुन् ।
उनले जुनियर र सिनियर खेलाडी दुवै टोलीमा बाहुल्यता रहेको र टोली पनि राम्रो बनेकाले आगामी विश्वकपमा राम्रो प्रदर्शन हुने आशा व्यक्त गरेकी छन् । यसका लागि नेपालले पछिल्लो आठ महिनादेखि तयारी गरिरहेको उनको भनाइ छ । यसबीच मिसन–२०२६ को पनि तयारीमा रहेकाले टोली लयमा रहेको कप्तान मानमतीको विश्वास छ ।
एसियाका कुल ४७ राष्ट्रमध्येबाट विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै १३ वर्षपछि हुन लागेको महिला विश्वकपमा सहभागी हुन लागेको हो ।
यस विश्वकपमा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, नेदरल्यान्ड्स, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र घरेलु प्रतियोगिता पनि भएकाले टोलीका सबै खेलाडीहरू राम्रो लयमा रहेको उनी बताउँछिन् । स्वर्णको दाबेदारीसहित विश्वकपमा होमिने उनको लक्ष्य छ । कम्तीमा रजत पदक जितेर फर्कने उनको विश्वास छ ।
नेपाली टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले आठ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको उल्लेख गर्दै पदक जित्नेमा आशावादी रहेको बताए ।
विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । यो टोलीमा १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ



















