काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डलरको हैसियत गुमाउनु विश्वयुद्ध हार्नुजस्तै हुने भएको बताएका छन् ।
आफूले डलरको हैसियत गिराउन नदिने उनले बताएका हुन्।
“द जीनियस एक्टले वास्तवमा अमेरिकी डलरलाई बलियो बनाइरहेको छ । यो कानुनले अमेरिकी मुद्राको महत्वलाई पनि जोड दिइरहेको छ । ब्रिक्स देशहरूको समूहले डलरको प्रभुत्व र विश्वभरी मानक अमेरिकी मुद्रामाथि कब्जा गर्ने कोसिस गर्यो,” ब्रिक्स देशहरूको नीति र भविष्यबारे बौल्दै ट्रम्पले भने, “मैले यसका सदस्यहरूमाथि १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको भोलिपल्ट उनीहरूको बैठक भयो, जसमा लगभग कोही पनि आएन ।”
उनले डलरलाई गिराउन नदिने प्रतिबद्धता जनाएका छन् । “यदि, हामीले विश्वको रिजर्व मुद्राको रूपमा डलरको हैसियत गुमायौँ भने, यो विश्वयुद्ध हार्नुजस्तै हुनेछ ।”ट्रम्पका अनुसार ब्रिक्स समूह छिट्टै लोप हुनेछ । ट्रम्पले भने- “जब मैले ब्रिक्सको ६ देशहरूको समूहबारे सुनेँ । मैले कडा प्रतिक्रिया दिएँ । यदि, उनीहरू सार्थक रूपमा संगठित भए पनि यो समूह धेरै छिट्टै समाप्त हुनेछ ।”
ट्रम्पले ट्यारिफ लागु हुने मितिमा कुनै परिवर्तन नगर्ने प्रष्ट पारेका छन् । अब सबै देशहरूमाथि ट्यारिफ १ अगस्टदेखि लागु हुने उनको भनाइ छ ।



















