एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा रियाले र छाहारीबिच प्रतिस्पर्धा हुने

काठमाडौं: एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छाहारी फुटबल क्लब र एफसी रियालेले प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनोटको खेल तालिका सार्वजनिक गरेसँगै उद्घाटन खेलमा रियाले र छाहारीले प्रतिस्पर्धा गर्ने तय भएको हो ।

एन्फाका अनुसार, छनोट साउन २७ गतेदेखि सुरु हुनेछ । छनोटमा ४३ खेल हुनेछन् भने १४ टोलीको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छाहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल र एफसी रियाले छन् ।

त्यसैगरी, समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, एनबीएम पोखरा गल्र्स एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।

छनोटको फाइनल भदौ २१ गते हुनेछ । फाइनलमा दुवै समूहका विजेताहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।