काठमाडौं: काठमाडौं महानगरपालिकाले बेवास्ता गरेपछि कबाड व्यवसायीहरूको आन्दोलन रोकिएको छ ।
कबाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले अब नयाँ तरिकाले आन्दोलन गर्ने तयारी भइरहेको बताए ।
गुप्ताका अनुसार, महानगरले सुनुवाइ गरेन । अब नयाँ आन्दोलनका लागि मोडालिटी बन्दै छ ।
महानगरले लामो समयदेखि काठमाडौंमा कबाड व्यवसायीका टहरामाथि डोजर चलाउँदै आएको छ । महानगरको कदमविरुद्ध भदौ ९ गतेदेखि उनीहरूले आन्दोलन गरेका थिए ।
महानगरले दुई वर्षदेखि कबाड व्यवसायीलाई गुन्डागर्दी शैलीमा यातना दिएको, कुटपिट गरेको, कबाड व्यवसाय गरेका ठाउँ भत्काएको, कबाड संकलन गर्ने मजदुरको साइकल जफत गरेको उनीहरूको गुनासो छ ।
सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै महानगरले कबाड व्यवसायमाथि तोडफोड गरेको उनीहरूको आरोप छ ।
महानगरले भने आवासीय क्षेत्रभित्र पर्ने सबै कबाड व्यवसायलाई हटाउने नीति लिएको छ ।
महानगर प्रहरीका अनुसार, महानगरको कार्यपालिका बैठकले नै निर्णय गरेर कबाड व्यवसाय हटाएकाले कबाड व्यवसायीसँग थप वार्ता र सहमति नहुने बताएको छ ।


















