भीभीआइपी/भीआइपीको सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरिने

काठमाडौं:  सरकारले भीभीआइपी/भीआइपीको सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्ने भएको छ ।

आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले शक्तिको भरमा सुरक्षा मापदण्ड मिच्ने गरिएको भन्दै त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले केही दिन अघि भीभीआइपी र भीआइपीले तोकिएकोभन्दा बढी दिएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो ।

जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार फिर्ता ल्याउन र फरार कैदीबन्दी पक्राउ गर्न संयुक्त गस्ती सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको गृहमन्त्री अर्यालले जानकारी दिए ।

आन्दोलनका क्रममा हराएका हतियारहरू सङ्गठित गिरोहमा पुग्न नदिन संयुक्त गस्ती सञ्चालन गर्ने निर्णय बैठकले गरेको मन्त्री अर्यालले बताए ।

राजनीतिक दलहरूले पनि कैदीबन्दी र हतियार प्रयोग गर्दैनौँ भनी स्वघोषणा गर्नुपर्ने निर्णय बैठकको छ ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित तरिकाले सम्पन्न गर्न संयुक्त सुरक्षा गस्ती सुरु गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री अर्यालले जानकारी दिए ।