काठमाडौँ: काठमाडौँमा विभिन्न स्थानमा धारिलो हतियार (चक्कु) देखाइ लुटपाटमा सङ्लग्न दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार दिउँसो तथा रातिको समयमा लुटपाट कार्यमा सङ्लग्न २० वर्षीय अमृत तामाङ र २६ वर्षीय सागर घिसिङ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तामाङ स्थायी घर उदयपुर, मुकुर्ची घर भइ काठमाडौँको बुढानिलकण्ठ बस्दै आएका थिए। यसैगरी, स्थायी घर रामेछाप फुलासी भएका घिसिङ र स्थायी घर सुनसरी, इनरुवा नगरपालिका–२ का प्रजापति बुढानिलकण्ठ बस्दै आएका थिए।
उनीहरुले २०८२ मङ्सिर ११ गते काठमाडौँ महानगरपालिका–२६ स्थित सडकखण्डबाट लुटपाट कार्यमा प्रयोग गरिएको बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिइ सोधपुछ गर्दा निजहरुले चोरी गरेको धनमाल पशुपति प्रजापतिलाई बिक्री गरेको भनी बताएका छन्।
त्यस्तै मङ्सिर ११ गते काठमाडौँ महानगरपालिका २६ ज्याठा रोडमा पैदलयात्री महिलाको सिक्री लुटी उनीहरु फरार भएका थिए। सोही दिन, काठमाडौँ महानगरपालिका – १६ सरस्वती क्याम्पस अगाडि पैदलयात्री पुरुष व्यक्तिको सामसुङ कम्पनीको मोबाइल एक थान र नगद चार हजार रुपियाँ लुटी फरार थिए।
यसैगरी, मङ्सिर ८ गते काठमाडौँको पक्नाजोलस्थित सडक खण्डमा पैदलयात्री पुरुषको आईफोन मोबाइल एक थान लुटेका थिए। सोही दिन काठमाडौँको सोह्रखुट्टे नजिकै पैदयाली व्यक्तिको रियलनेम कम्पनीको मोबाइल एक थान र पर्ससहित नगद सात हजार रुपियाँ, नबिल बैङ्कको एटीएक कार्ड एक थान, एनआईसी एसिया बैङ्कको एटीएम कार्ड एक थान लुटी फरार भएका थिए।
मङ्सिर ३ गते काठमाडौँको नयाँबजारस्थित सडकखण्डमा पैदलयात्रीको नगद २४ हजार रुपियाँ र सोही दिन म्हैपीस्थित सडक खण्डमा पैदलयात्री पुरुष व्यक्तिको सामसुम कम्पनीको मोबाइल एक थान र चाँदीको सिक्री दुई थान लुटी फरार भएका थिए।
प्रहरीले उनीहरुबाट बा ६५ प २४१२ नम्बरको पल्सर मोटरसाइकल, विभिन्न कम्पनीका मोबाइलहरु ३२ थान, सुनको जस्तो देखिने सिक्रि एक थान, नगद छ हजार ४९५ रुपियाँ र धारिलो हतियार चक्कु एक थान बरामद गरेको छ।
उनीहरुलाई नियन्त्रणमा लिइ चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















