बुढानिलकण्ठमा एंटीबायोटिक दुरुपयोगबारे सचेतना कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ:बुढानीलकण्ठ नगरपालिकाले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे केन्द्रित छलफल कार्यक्रम सम्पन्न गरेको छ।

आज बुढानीलकण्ठ नगरपालिकाले एक कार्यक्रम आयोजना गरी एन्टिबायोटिकको अनावश्यक तथा गलत प्रयोगले ‘एन्टिबायोटिक प्रतिरोध’ बढ्दा हुने असरका बिषयमा विज्ञ, सरोकारवाला निकाय बिच छलफल गरेको हो।

कार्यक्रममा, त्रि. वि शिक्षण अस्पताल क्लिनिकल फार्माकोलॉजी विभागकी एमएमसी-आईओएम आकृती पोखरेलले चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु, निर्धारित मात्रा र समय पूरा नगर्नु, र सामान्य रुघाखोकी जस्ता भाइरल रोगमा पनि एन्टिबायोटिक प्रयोग गर्नु अत्यन्तै हानिकारक हुने जानकारी गराइन्। उनले नेपालमा प्रतिजैविक प्रतिरोध गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखिएको बताउदैँ सन् २०२१ मा मात्रै करिब ३० हजारभन्दा बढी मानिसको मृत्यु ब्याक्टेरियल संक्रमणका कारण भएको र १९ हजारभन्दा बढी मृत्यु एएमआरसँग सम्बन्धित रहेको जानकारी गराइन् ।

यसैगरी, त्रि. वि शिक्षण अस्पताल क्लिनिकल फार्माकोलॉजी विभागका डॉ. प्रवीण प्रसादले एन्टिबायोटिकको दुरुपयोगले भविष्यमा सामान्य संक्रमणसमेत जटिल र उपचार गर्न कठिन बन्न सक्ने चिन्ता व्यक्त गरे । उनले एन्टिबायोटिकको जथाभावी प्रयोगले निम्त्याउने समस्याबाट बच्नका जनचेतना अभिवृद्धि, औषधि विक्रेताहरूलाई कडाइका साथ नियम पालना गराउन र चिकित्सकको सल्लाहअनुसार मात्र औषधि प्रयोगमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारीले एन्टिबायोटिक औषधिको दुरुपयोगका कारण निम्तन सक्ने जोखिम न्यूनीकरणका लागि नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रम उपयोगी हुने बिश्वास व्यक्त गरे।

त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाका स्वास्थ शाखा प्रमुख कुमार प्रसाद दाहालले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले प्रत्येक तीन मिनेटमा एक बालबालिकाको मृत्यु हुने बताउँदै यस्ता कार्यक्रम बुढानीलकण्ठ नगरपालिकाले मात्र नभएर सबै नगरपालिकाले आयोजना गर्नुपर्नेमा बिचार व्यक्त गरे।

कार्यक्रममा, बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा बुढानीलकण्ठ नगरपालिका वडा अध्यक्षहरु लगायको सहभागिता रहेको थियो।

सहभागीहरुले एन्टिबायोटिक औषधिको जथाभावी प्रयोग रोक्न जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको औलाएका थिए।