सामूहिक प्रयासले मात्रै समाज समृद्ध बन्छ : जगद्गुरु

काठमाडौं: जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले विद्या, चिकित्सा र दानमार्फत मात्रै साँचो पुण्य प्राप्त हुने बताएका छन् ।

काठमाडौंको बूढानीलकण्ठमा निर्माण गरिएको बाल अस्पताल ‘किओच’को भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले धनलाई सही उद्देश्यमा प्रयोग गर्न सके मात्र त्यसको अर्थ रहने बताएका हुन् ।

उनका अनुसार समाज परिवर्तनका लागि व्यक्तिगत प्रयास मात्र पर्याप्त नहुने भएकाले सामूहिक शक्ति, जनबल र सहकार्य आवश्यक पर्छ । “सबैले नेतृत्व खोज्ने होइन, साझा उद्देश्यका लागि मिलेर काम गर्नुपर्छ,” उनले भने ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले करिब ७१ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण गरिदिएका हुन् । उनले जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीमार्फत् अस्पतालका अध्यक्ष डा. कोइरालालाई हस्तान्तरण गरेका थिए ।

जगद्गुरुले गुरुङको सहयोगले नेपाली बालबालिकाको उपचारमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्य जारी रहने अपेक्षा गरे ।

यसैगरी कार्यक्रममा डा. कोइरालाले अस्पताल निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे भने भाटभटेनीका अध्यक्ष गुरुङले सबैको सद्भाव र समर्थनका कारण परियोजना सम्भव भएको बताए ।

यस्तै, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले उक्त अस्पताललाई नेपालका लागि ऐतिहासिक र दीर्घकालीन महत्वको परियोजनाका रूपमा वर्णन गरिन् ।