एभरेष्ट म्याराथनमा सहभागी हुँदै छिरिङ शेर्पा, बुढानीलकण्ठको शुभकामना

काठमाडौं: आगामी मे २९ मा आयोजना हुन गइरहेको विश्वकै साहसिक तथा प्रतिष्ठित ‘एभरेष्ट म्याराथन’ (४२ किलोमिटर) प्रतियोगितामा सहभागी हुन लागेका बुढानीलकण्ठ नगरपालिकाका खेलाडी छिरिङ शेर्पालाई बिदाइ गरिएको छ।

शुक्रबार बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, खेलकुद विकास बोर्डका संयोजक सुमन तामाङ, वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष शिरिष पौडेल तथा उत्तरी भेग सितोरियो डोजोका प्रमुख प्रशिक्षक प्रेम लामाले खादा ओढाएर शेर्पालाई बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले खेलाडी छिरिङ शेर्पाले उत्कृष्ट प्रदर्शनमार्फत नगर र देशको गौरव बढाउने विश्वास व्यक्त गरे।

साथै, उनले सहभागी सबैले शेर्पाको सफलताको कामना गर्दै सम्पूर्ण नगरवासीको तर्फबाट अग्रिम शुभकामना व्यक्त गरे।

प्रतियोगितामा सहभागी हुन लागेका खेलाडी छिरिङ शेर्पाको तयारी र आत्मविश्वासले नगरवासी उत्साहित छन्।

विश्वको सबैभन्दा उच्च स्थानमा आयोजना हुने एभरेष्ट म्याराथन साहस, सहनशीलता र शारीरिक क्षमताको कठिन प्रतियोगिता मानिन्छ।