मानवअधिकार आयोगको सिफारिस : रास्वपाका १७ सांसद अनुसन्धानको घेरामा

काठमाडौं: राष्ट्रिय मानवअधिकार आयोगले २३ र २४ भदौमा भएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १७ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।

आयोगले नख्खु कारागारबाट बाहिरिने क्रममा कैदीबन्दीलाई बाहिर पठाउन संलग्नता रहेको भन्दै लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न सुझाव दिएको हो।

सोही घटनामा रास्वपाका प्रवक्ता मनिष झा र नेता हरि ढकाल माथि पनि अनुसन्धान गर्न भनिएको छ।
आयोगको सिफारिस सूचीमा रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादव रहेका छन्।

त्यसैगरी रास्वपाका केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट उम्मेदवार बनेका हेमराज थापामाथि पनि अनुसन्धान गर्न आयोगले सिफारिस गरेको छ।

आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा गठित समितिले घटनासम्बन्धी मानवअधिकार उल्लंघनबारे अध्ययन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा सम्बन्धित नेताहरूका अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित बनाएको वा सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पारेको विषयमा अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।