काठमाडौं: डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगरको शव सोमबार फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ५६ वर्षीय थापाको शव महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा भेटिएको हो। यस्तै, सशस्त्र प्रहरी बलको बिओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा फेला परेको हो।
मामाभान्जा नाता पर्ने दुवै जना हराएपछि उनीहरूले प्रयोग गरेको ट्युब नदी किनारमा भेटिएको थियो। त्यसपछि महाकाली नदीमा बगेको आशङ्कामा सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको थियो।खोजीका क्रममा थापाको शव कल्पठ्ठे नजिक नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो भने पुन मगरको शव नदीले बगाएर ब्रह्मदेव क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान जारी रहेको छ।




















