काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको केही भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ।
एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्।
प्रदर्शनकारीले ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’ र ‘विवादित अभिव्यक्ति फिर्ता लेऊ’ लगायतका नारा लगाएका थिए। एमालेले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत भएको दाबी गरेको छ।
यसअघि पार्टी महासचिव शंकर पोखरेल ले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद् र नेपाली जनतासँग माफी माग्नुपर्ने बताएका थिए। एमालेले प्रधानमन्त्रीलाई कूटनीतिक मर्यादा पालना गर्दै राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आग्रह गरेको छ।




















