काठमाडौं: जुम्लामा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार गुठीचौर गाउँपालिका–४ को थामबाडा गाउँमा सोमबार राति भएको आक्रमणमा स्थानीय किसान नरेन्द्र अधिकारीका आठ भेडा मरेका हुन्।
प्रहरीका अनुसार रातिको समयमा गोठमा राखिएको भेडाको बथानमा भालु पसेर आक्रमण गरेको थियो। घटनापछि पाँच वटा भेडा अझै भेटिएको छैन भने २९ वटा भेडा सकुशल रहेको जनाइएको छ।
रातिको समयमा घटना भएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भेडापालक किसान अधिकारीका अनुसार एउटा भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने भएकाले आठ भेडा मर्दा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।




















