काठमाडौं: भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आफ्नो भ्रमण राजनीतिक एजेन्डाभन्दा नेपालको आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन्।
नयाँ दिल्लीमा आयोजित प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै लामिछानेले आफू भारतसँग कुनै व्यक्तिगत वा पार्टीगत स्वार्थ लिएर नआएको स्पष्ट पारे। “नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै आए, म समृद्धिको ढोका खोल्न आएको हुँ,” भन्दै उनले समृद्ध नेपालको लक्ष्यका लागि सहकार्य खोज्न भारत आएको बताए।
भाजपाको निमन्त्रणामा प्राप्त सम्मान सम्पूर्ण नेपाली तथा भारतमा रहेका प्रवासी नेपालीप्रतिको सम्मान भएको उल्लेख गर्दै लामिछानेले पछिल्लो एक दशकमा भारतले हासिल गरेको विकासलाई नेपालले पनि अनुसरण गर्नुपर्ने धारणा राखे। नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउन कूटनीतिक च्यानलहरू सक्रिय बनाउने प्रयास भइरहेको उनको भनाइ थियो।
आफूले पनि लामो समय प्रवासमा बिताएकाले प्रवासी नेपालीका समस्या राम्रोसँग बुझेको बताउँदै उनले रास्वपा ती समस्याको समाधान खोज्न प्रतिबद्ध रहेको बताए। स्वदेशमै रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो व्यवस्था गरी नेपालीहरूलाई मातृभूमि फर्कने वातावरण बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।
लामिछानेले रास्वपाले राजनीतिक भागबन्डाको संस्कृति अन्त्य गर्ने संकल्प लिएको उल्लेख गर्दै “हामी भागबन्डा गर्न होइन, नेपालीको भाग्य परिवर्तन गर्न आएका हौँ” भने। उनले प्रवासी नेपालीहरूलाई आफ्नो सीप, अनुभव र पुँजी देशको विकासमा लगानी गर्न आग्रह गर्दै परिवर्तनको यात्रामा सहभागी बन्न आह्वान गरे।
कार्यक्रममा एभरेस्ट चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले प्रवासी नेपालीका समस्या र सरोकार समेटिएको ज्ञापनपत्र पनि बुझाएका थिए। नयाँ दिल्लीको कार्यक्रमपछि लामिछाने अयोध्या भ्रमणका लागि प्रस्थान गरेका छन्।




















