सुस्ताको भिडियो देखाउँदै हर्क साम्पाङको प्रश्न– सरकार किन मौन ?

काठमाडौं: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली नागरिकमाथि दुर्व्यवहार गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुस्तामा देखिएको पछिल्लो अवस्थाबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका हुन्।

प्रधानमन्त्री संसदमा उपस्थित नभएको उल्लेख गर्दै उनले रक्षामन्त्रीलाई संसदमा बोलाउन सभामुखसँग आग्रह गरे। “प्रधानमन्त्रीज्यू आउनुहुन्न भने रक्षामन्त्रीलाई बोलाइदिनुपर्‍यो। हामीसँग केही गम्भीर प्रश्न छन्,” साम्पाङले भने।

उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा भारतीय सीमा बलका सदस्यहरूले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको देखिएको दाबी गरे। आफ्नै भूमिको रक्षा गर्न उभिएका नेपालीमाथि भएको भनिएको व्यवहारबारे सरकारले तत्काल जानकारी दिनुपर्ने उनको माग थियो।

साम्पाङले सीमा क्षेत्रमा देखिएका यस्ता गतिविधिप्रति सरकार संवेदनशील हुनुपर्ने बताउँदै सुस्ताको अवस्थाबारे संसदलाई जानकारी गराउन र आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरे।