काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी ले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई संयमित, जिम्मेवार र अनुशासित बन्न आग्रह गरेका छन्।
पोखरामा आयोजित रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले छोटो समयमै पार्टी देश निर्माणको महत्वपूर्ण जिम्मेवारीमा पुगेको उल्लेख गरेका हुन्।
उनले संगठनलाई अझ व्यवस्थित, परिपक्व र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।
बुर्लाकोटीले अधिवेशनहरू पार्टीको नीति, नेतृत्व र संगठनलाई थप खार्ने अवसर भएको बताउँदै आगामी महाधिवेशनको तयारीसँगै रास्वपालाई बृहत्तर राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
“एक समय हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ। अब संयम आवश्यक छ,” उनले भने।
उनले रास्वपा कुनै एक व्यक्ति वा समूहको नभई सम्पूर्ण नेपाली नागरिकको साझा राजनीतिक अभियान भएको स्पष्ट पार्दै सबै नेता–कार्यकर्ताले जिम्मेवारीको सीमाभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली ले पार्टी र सरकारबीच कुनै समस्या नरहेको दाबी गरे। उनले नेतृत्व तहमा जिम्मेवारी बाँडफाँटमार्फत संगठन र सरकार सञ्चालन व्यवस्थित रूपमा अगाडि बढिरहेको बताए।
त्यस्तै, प्रतिनिधिसभा सदस्य सागर ढकाल ले देश परिवर्तनको लक्ष्यसहित रास्वपा स्थापना भएको उल्लेख गर्दै पद र जिम्मेवारीलाई प्रतिष्ठाको विषय नबनाउन कार्यकर्तालाई आग्रह गरे।




















