काठमाडौं: वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिकजसो वर्षा हुन थालेपछि डेङ्गी सार्ने लामखुट्टेको प्रजनन बढ्ने र त्यससँगै सङ्क्रमणको जोखिम पनि वृद्धि हुने बताएका हुन्।
उनका अनुसार वर्षाको पानी विभिन्न स्थानमा जम्दा डेङ्गी सार्ने लामखुट्टे विकास हुने वातावरण तयार हुन्छ। “केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ। आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुन्छ र त्यही लामखुट्टेले रोग सार्ने गर्दछ,” उनले भने।
महाशाखाको तथ्याङ्कअनुसार असार ९ गतेदेखि १५ गतेसम्म देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। हाल निरन्तर वर्षा भइरहेकाले सडक, घर वरपरका खाल्डाखुल्डी तथा पानी जम्न सक्ने स्थानमा लामखुट्टेको वृद्धि हुने र सङ्क्रमण थप फैलिन सक्ने डा. दाहालले बताए।
उनले डेङ्गीबाट बच्न घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने, सुत्ने बेला झुल प्रयोग गर्ने तथा लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरूको पहिचान गरी सफा राख्नुपर्ने सुझाव दिए।
डा. दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिक महिनासम्म रहने गर्दछ। पानी जम्ने सफा स्थानमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फूल पार्ने र त्यहीबाट निस्किएको लार्भा वयस्क बनेपछि मानिसलाई टोकेर डेङ्गी रोग सार्ने भएकाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए।
महाशाखाले वर्षायामभर डेङ्गी नियन्त्रणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइलाई प्राथमिकता दिन र पानी जम्न नदिने अभियानमा सबैलाई सहभागी हुन आग्रह गरेको छ।



















