सीमाको विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गर्न हर्क साम्पाङको माग

काठमाडौं:  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीलाई संसद्मा स्पष्ट जवाफ दिन रुलिङ गर्न सभामुखसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले यसअघि दिएको सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उक्त विषयलाई लिएर प्रतिपक्षको आन्दोलन जारी रहेकाले संसद्बाट आवश्यक रुलिङ हुनुपर्ने उनको भनाइ थियो।

उनले संसद्को नियम एक पक्षले मात्र पालना गर्ने र अर्को पक्षले बेवास्ता गर्ने अवस्था सिर्जना भए त्यसले संसदीय प्रणालीमा अराजकता निम्त्याउने चेतावनी दिए। साथै, प्रधानमन्त्री र मन्त्रीहरूलाई नियमित रूपमा सदनमा उपस्थित गराउने व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण गराए।

साम्पाङले सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक युवालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाइएको घटनाप्रति पनि आपत्ति जनाए। प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित अभिव्यक्तिमा तत्काल कारबाही हुने तर सांसदहरूलाई ज्यान मार्ने वा घर जलाउने धम्की दिँदा पनि कारबाही नहुने अवस्था स्वीकार्य नभएको उनको भनाइ थियो।

त्यसैगरी, उनले सडक आश्रित दृष्टिविहीन नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे। प्रत्येक महिनादेखि कम्तीमा १० देखि १५ जनासम्मलाई रोजगारीको अवसर उपलब्ध गराउने कार्यक्रम सुरु गर्न सरकारलाई उनले सुझाव दिए।