काठमाडौं: विदेश भ्रमण र उच्च शिक्षाका लागि जाने नेपालीसँगै चालु आर्थिक वर्षको पहिलो ११ महिनामा झन्डै दुई खर्ब रुपैयाँ नेपालबाट बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार साउनदेखि जेठ मसान्तसम्म भ्रमण र अध्ययन शीर्षकमा एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ विदेशिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको सोही अवधिमा यही शीर्षकमा दुई खर्ब तीन अर्ब १८ करोड रुपैयाँ विदेशिएको थियो।
यस्तै, अध्ययनका लागि मात्रै विदेशिने रकम भने बढेको देखिएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीसँगै एक खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको एक खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी हो।
राष्ट्र बैंकको तथ्यांकले कुल रूपमा भ्रमण र अध्ययन शीर्षकको विदेशी मुद्रा बाहिरिने रकम केही घटे पनि विदेश अध्ययनका लागि हुने खर्च भने निरन्तर बढ्दो क्रममा रहेको देखाएको छ।


















