ट्राफिक नियम उल्लंघनमा नयाँ जरिवाना लागू, कसलाई कति?

काठमाडौं: यातायात व्यवस्था विभागले मोटर यातायात तथा ट्राफिक नियमावली, २०७४ अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि लाग्ने जरिवानाको दर सार्वजनिक गरेको छ।

नयाँ व्यवस्थाअनुसार उल्लंघनको प्रकृति र सवारीको वर्गअनुसार जरिवानाको रकम निर्धारण गरिएको हो।

विभागका अनुसार ट्राफिक संकेत उल्लंघन, मोबाइल फोन प्रयोग, लेन अनुशासन उल्लंघन, निषेधित क्षेत्रमा पार्किङ तथा बालबालिकालाई अगाडिको सिटमा राखेर सवारी चलाएमा साना तथा मझौला सवारीलाई एक हजार रुपैयाँ र ठूला सवारीलाई दुई हजार रुपैयाँ जरिवाना लाग्नेछ।

सिट बेल्ट नलगाउने र हेल्मेट नलगाउने चालक तथा पछाडि बस्ने यात्रुलाई ५०० रुपैयाँ जरिवाना तोकिएको छ। यस्तै, लाइसेन्सबिना सवारी चलाउने, ब्लुबुक वा दर्ता नभएको, बीमा नगरेको, प्रदूषण मापदण्ड विपरीत धुवाँ फाल्ने तथा नम्बर प्लेट नराखेको सवारी चलाएमा साना सवारीलाई दुई हजार र ठूला सवारीलाई चार हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई साना तथा मझौला सवारीका लागि १० हजार र ठूला सवारीका लागि २० हजार रुपैयाँ जरिवाना लाग्नेछ। यसबाहेक चालकको लाइसेन्स निलम्बन वा रद्द हुन सक्ने व्यवस्था पनि छ।

ओभरस्पिड, ओभरलोड, सार्वजनिक सवारीमा बढी भाडा असुल्ने तथा खतरनाक ढंगले सवारी चलाउने कसुरमा भने उल्लंघनको गम्भीरताअनुसार दुई हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागले सडक सुरक्षा प्रवर्द्धन तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।