उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फालेर प्रदर्शन

काठमाडौं: तारकेश्वरका किसानहरूले उत्पादनको उचित मूल्य नपाएको भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।

किसानहरूले कृषि उपजको मूल्य निर्धारणमा बिचौलियाको प्रभाव अन्त्य गर्न, सहुलियतपूर्ण कृषि ऋणको व्यवस्था गर्न तथा किसानमैत्री कृषि नीति लागू गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाउँदै कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि अनुदान वृद्धि, प्रभावकारी बजार व्यवस्थापन र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अविलम्ब लागू गर्नुपर्ने बताएका छन्।

उनीहरूले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था सिर्जना भएकाले किसानहरू निरन्तर घाटामा परेको र यसतर्फ सरकार गम्भीर बन्नुपर्ने चेतावनी दिएका छन्।