वासिङ्टन डीसी: अमेरिकी सिनेटका डेमोक्र्याट सदस्यहरूले मंगलबार १ ट्रिलियन डलरको रक्षा विधेयकलाई अघि बढ्न नदिएपछि उक्त प्रस्ताव तत्कालका लागि रोकिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी सैन्य नीतिको विरोध गर्दै डेमोक्र्याटहरूले विधेयकको विपक्षमा मतदान गरेका हुन्।
उक्त विधेयकमा पेन्टागनको रक्षा खर्च वृद्धि, सैनिकको तलब बढाउने तथा सैन्य क्षमता विस्तार गर्ने व्यवस्था समावेश थियो। मतदानमा ५० सांसदले विधेयकको विपक्षमा र ४६ सांसदले पक्षमा मत दिएका थिए।
सिनेटमा डेमोक्र्याटिक नेता चक शुमरले इरानमा जारी सैन्य गतिविधिबारे स्पष्ट रणनीति र युद्ध अन्त्यको योजना नदेखिएकाले विधेयकलाई समर्थन गर्न नसकिने बताए। उनले अमेरिकी जनतालाई स्पष्ट उद्देश्यबिनाको युद्धमा धकेल्न नहुने धारणा व्यक्त गरे।
मतदानअघि शुमरले इरानमा भइरहेको सैन्य कारबाहीका लागि यो विधेयकलाई अनुमति पत्रका रूपमा प्रयोग गर्न नहुने बताएका थिए।
यता, रिपब्लिकन नेता जोन थुनले भने सेनाले आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक स्रोतसाधन उपलब्ध गराउनु सरकारको दायित्व भएको भन्दै विधेयक पारित हुनुपर्ने तर्क गरे।
डेमोक्र्याट सांसदहरूले रक्षामन्त्री पीट हेगसेथसँग इरानसम्बन्धी सैन्य कारबाहीबारे विस्तृत जानकारी र प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन्।
पूर्वसैनिकसमेत रहेकी सिनेटर ट्यामी डकवर्थले युद्ध अन्त्यको स्पष्ट रणनीति नआएसम्म रक्षा बजेट वृद्धि स्वीकार्य नहुने बताइन्।


















