काठमाडौं: साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा–आराधना र दर्शनका लागि बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउनका प्रत्येक सोमबार पशुपतिनाथमा देशभरबाट श्रद्धालु भक्तजन दर्शन र पूजा गर्न आउने परम्परा छ। यही कारण साउनका सोमबारहरूमा मन्दिर परिसरमा हरेक वर्ष ठूलो भीड लाग्ने गर्दछ।
पशुपति क्षेत्र विकास कोषले साउने सोमबारका अवसरमा दर्शन र विशेष पूजालाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन विशेष तयारी गरिएको जनाएको छ। दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी र कर्मचारीसँगै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक संस्थाको परिचालन गरिएको छ।
कोषका अनुसार साउनका सोमबार दर्शनका लागि आउने लाखौँ श्रद्धालुलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा पूजा तथा दर्शन गराउने व्यवस्था मिलाइएको छ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका भक्तजनका लागि खुला गरिएको छ। मन्दिरका ढोका साँझको आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने कोषले जनाएको छ।


















