काठमाडौं: प्रधानमन्त्री बालेन्द्र साहले आज मध्याह्न १२ बजे पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका प्रमुख सरोकारवालासँग विशेष बैठक गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, साथै प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल सहभागी हुनेछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पुँजीबजारको विद्यमान अवस्था, धितोपत्र तथा बिमा क्षेत्रलाई थप प्रभावकारी र सुदृढ बनाउने उपाय, आवश्यक नीतिगत सुधार तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाको धारणा र सुझाव लिइनेछ।
सरकारले पुँजीबजार र वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारलाई अघि बढाउने तयारी गरिरहेका बेला आयोजना हुन लागेको यो बैठकलाई अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।


















