मुगु: मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार बिहान करिब ४ बजे आएको पहिरोले पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवालको परिवारलाई च्यापेको थियो।
घटनाका बेला जगनाथ, उनकी २७ वर्षीया पत्नी सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल घरभित्र सुतिरहेका थिए।
पहिरोमा पुरिएका रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले उद्धार गरी बिहान ४:४८ बजे पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। उपचारका क्रममा बिहान ५:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा घाइते भएका जगनाथ बडुवाल र सृजना बडुवालको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।


















