काठमाडौं: नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए।
आफन्तका अनुसार अक्सिजनमा रहेका बिरामीलाई स्थानान्तरण गर्ने क्रममा अक्सिजन हटाइएका कारण उनको मृत्यु भएको हो। यद्यपि, उक्त आरोपबारे छानबिन समितिले अनुसन्धान गर्नेछ।
गठित समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार राम, नारायणी अस्पतालका डा. निरजकुमार सिंह, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रोनियार सदस्य छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक समितिका संयोजक रहेका छन्।
घटनापछि अस्पताल प्रशासनले उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार समितिले एक साताभित्र प्रतिवेदन बुझाउनेछ। प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि आवश्यक कारबाही गरिने उनले बताए।


















