सात वर्षपछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

काठमाडौं: बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

सात वर्षको निर्माण अवधिपछि सञ्चालनमा आएको सुरुङमार्गलाई नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लम्सालले सुरुङमार्ग सञ्चालनसँगै नेपाल ‘सुरुङ युग’मा प्रवेश गरेको बताए। उनले देशभरका मुख्य राजमार्गमा आवश्यकताअनुसार थप सुरुङमार्ग निर्माण गरी आधुनिक र सुरक्षित यातायात सञ्जाल विस्तार गरिने उल्लेख गरे।

काठमाडौं उपत्यकाको मुख्य प्रवेश नाका मानिने नागढुङ्गामा वर्षौंदेखि हुने सवारी जाम कम गर्न, यात्रा समय छोट्याउन तथा यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन सुरुङमार्गले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।

कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री लम्सालले सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गरिने जानकारी पनि दिए।