सुनसरीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले मंगलबार सुनसरीसहित देशका विभिन्न स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो छ घण्टामा भने सिन्धुपाल्चोकमा सबैभन्दा बढी १५ दशमलव ४ मिलिमिटर वर्षा भएको छ।

आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
मौसमविद् डेविट ढकालका अनुसार दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्छ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पहाडी भू–भागका केही स्थान तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै नदी तथा खोलानजिक र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।