चिकित्सकको आन्दोलनबीच मन्त्रालयको आग्रह : अस्पताल र ओपीडी सेवा बन्द नगर्नू

नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिँदै आकस्मिक सेवा पनि बन्द गरे

काठमाडौं: वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ।

मन्त्रालयले चिकित्सकका मागप्रति आफू संवेदनशील रहेको जनाउँदै आन्दोलनका कारण बिरामीको उपचार प्रभावित हुन नहुने बताएको हो।

स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले अस्पताल तथा उपचार सेवा निरन्तर सञ्चालन हुनुपर्ने मन्त्रालयको धारणा छ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न निर्देशन नदिएको स्पष्ट गर्दै स्वास्थ्य सेवा नियमित राख्न आग्रह गरे।

‘चिकित्सकहरूको आफ्नै माग र असन्तुष्टि हुन सक्छ। तर अस्पताललाई आन्दोलनको माध्यम बनाउनु उचित हुँदैन,’ उनले भने, ‘बिरामीका लागि अस्पताल नै अन्तिम आश्रय हो। स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले उपचार सेवा निरन्तर सञ्चालन हुनुपर्छ।’
मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य सेवा अवरुद्ध नगर्न अपिल गरिसकेको छ। चिकित्सकहरूको आन्दोलनलाई संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समाधान गर्ने प्रयास भइरहेको प्रवक्ता अधिकारीले बताए।

उनका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव तथा मन्त्रालयका उच्च अधिकारीहरू चिकित्सकका प्रतिनिधि, स्थानीय प्रशासन र सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वयमा छन्।

घटनास्थल वीरगञ्जमा स्थानीय प्रशासन, अस्पताल व्यवस्थापन र चिकित्सकबीच पटक–पटक वार्ता भएको तथा त्यसकै आधारमा समाधान खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचन वीरगञ्ज पुगेर अस्पताल प्रशासन, चिकित्सक तथा अन्य सरोकारवालासँग छलफल गरेका छन्। प्रमुख जिल्ला अधिकारीले स्थानीय तहमा आवश्यक समन्वय गरिरहेको र मन्त्रालयले काठमाडौंबाट समेत फोन तथा औपचारिक छलफलमार्फत अवस्थाको निरन्तर अनुगमन गरिरहेको अधिकारीले बताएघटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ। ‘जो दोषी छ, उसलाई कानुनबमोजिम कारबाही हुन्छ। त्यसका लागि आवश्यक समन्वय भइरहेको छ,’ डा. अधिकारीले भने।

मन्त्रालयले संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको जनाएको छ। साथै, चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई संयम अपनाउँदै स्वास्थ्य सेवा नियमित राख्न पुनः आग्रह गरेको छ।

यता, नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिँदै आकस्मिक सेवा समेत बन्द गरेका छन्। चिकित्सकमाथि कुटपिट भएको र त्यसपछिको घटनामा प्रशासनबाट समेत दुर्व्यवहार भएको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको राजीनामा माग गरेका छन्।

चिकित्सकहरूले कुटपिटमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।

नेपाल चिकित्सक संघले मंगलबार देशभरका स्वास्थ्य संस्थालाई सेवा बन्द गर्न अपिल गरेको छ। संघको आह्वानअनुसार अधिकांश स्वास्थ्य संस्थाले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन्।
संघका अध्यक्ष डा. बद्री रिजालले सरकारले चिकित्सकसँग प्रभावकारी संवाद गरी समस्याको समाधान निकाल्नुपर्ने बताए।

‘उचित ढंगको छलफल भएको छैन। चिकित्सकमाथि हुने कुटपिट कुनै पनि अवस्थामा सह्य हुँदैन,’ उनले भने, ‘कुटपिटमा संलग्नलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन रोकिन्न।’

चिकित्सक संघले आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न मंगलबार दिउँसो २ बजे पदाधिकारीहरूको बैठक बोलाएको जनाएको छ।