सरकारद्वारा ९ महत्त्वपूर्ण विधेयक संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं: सरकारले संविधान, प्रशासन, श्रम, नागरिक सेवा, पशु स्वास्थ्य, हवाई सेवा तथा मानव बेचबिखन नियन्त्रणलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित नौ वटा महत्त्वपूर्ण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसद्मा दर्ता तथा पेश गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कानुनी तथा नीतिगत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न ऐन संशोधन तथा नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएका हुन्।

संसद्मा पेश गर्न स्वीकृति पाएका विधेयकहरूमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा–सर्त तथा सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्ने विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयक, संक्रामक पशुरोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन गर्ने विधेयक, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनको पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था गर्ने विधेयक, मेलमिलाप ऐन, २०६८ संशोधन गर्ने विधेयक तथा निजामती सेवा ऐन, २०१९ संशोधन गर्ने विधेयक रहेका छन्।

मन्त्रिपरिषद्को स्वीकृतिपछि यी सबै विधेयक संघीय संसद्मा दर्ता हुनेछन्। त्यसपछि संसदीय समितिमा छलफल, आवश्यक संशोधन तथा दुवै सदनबाट पारित हुने संवैधानिक प्रक्रियाअनुसार अघि बढाइनेछ।

सरकारले विभिन्न क्षेत्रमा देखिएका कानुनी तथा नीतिगत आवश्यकता सम्बोधन गर्दै सेवा प्रवाह, सुशासन र नियामक व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले यी विधेयक अघि बढाइएको जनाएको छ।