काठमाडौं: सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई समसामयिक विषयमा संसद्मा उपस्थित भएर सम्बोधन गर्न सुझाव दिएका छन्।
सिंहदरबारमा बुधबार भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित भई समसामयिक विषयमा धारणा राख्न आग्रह गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले भने, “मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भनेँ।” उनका अनुसार प्रधानमन्त्री शाहले त्यसको जवाफमा “विचार गर्छु” भनेका छन्।
सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक प्रभावकारी बनाउन विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्। सोही क्रममा उनले प्रधानमन्त्री शाहसँग पनि भेटवार्ता गरेका हुन्।
प्रतिनिधिसभाको बैठक दुई सातापछि बिहीबार बस्दै छ। बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारले अघि बढाएका विभिन्न विधेयकमाथि छलफल हुने अपेक्षा गरिएको छ।


















