चार वर्षमा ७४ बाघ थपिए, नेपालमा संख्या ४२९ पुग्यो

काठमाडौं: नेपालमा पाटेबाघको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

पछिल्लो राष्ट्रिय गणनाअनुसार देशभर बाघको संख्या ४२९ पुगेको छ।

विश्व बाघ दिवसको अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको सन् २०२६ (२०८२) को बाघ गणनाअनुसार चार वर्षको अवधिमा ७४ वटा बाघ थपिएका छन्।

अघिल्लो गणना सन् २०२२ मा देशभर ३५५ वटा बाघ रहेको थियो। मन्त्रालयका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वटा बाघ छन्।

त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन्।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणमा प्राप्त उपलब्धि संरक्षण प्रयास, बासस्थान व्यवस्थापन तथा सिकार प्रजातिको संख्या बढ्नुको परिणाम भएको बताइन्। उनका अनुसार संरक्षणमा समुदाय, निकुञ्ज प्रशासन तथा सरोकारवाला निकायबीचको समन्वयले पनि सकारात्मक नतिजा दिएको छ।

नेपालले सन् २००९ देखि प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गर्दै आएको छ। तथ्यांकअनुसार सन् २०१० मा १२१, सन् २०१४ मा १९८, सन् २०१८ मा २३५, सन् २०२२ मा ३५५ र अहिले ४२९ वटा बाघ पुगेका छन्।

हरेक वर्ष जुलाई २९ मा मनाइने विश्व बाघ दिवस सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनपछि सुरु गरिएको हो।

जैविक विविधता संरक्षण र प्राकृतिक पारिस्थितिकीय सन्तुलन कायम राख्न बाघलाई महत्त्वपूर्ण प्रजातिका रूपमा लिइन्छ।