काठमाडौं: आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतालाई सुदृढ बनाउँदै शान्ति, सद्भाव, सहिष्णुता र सहकार्यको भावना विस्तार गर्ने उद्देश्यले हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरिन्छ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा अन्तर्राष्ट्रिय मित्रता दिवस घोषणा गरेपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो।
राष्ट्रसङ्घले सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, मेलमिलाप, ऐक्यबद्धता र पारस्परिक विश्वास अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै आएको छ।
राष्ट्रसङ्घका अनुसार मित्रता व्यक्तिगत सम्बन्धमा मात्र सीमित नभई समुदाय, संस्कृति र राष्ट्रबीच पनि विश्वास र सहकार्यको आधार बन्न सक्छ। यस्ता सम्बन्धले द्वन्द्व न्यूनीकरण, शान्ति स्थापना र दिगो विकासका प्रयासलाई थप बल पुग्ने विश्वास गरिएको छ।
महासभाले विशेष गरी युवालाई विविध संस्कृति र समुदायसँग जोडिने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएको छ। युवाबीच अन्तरसांस्कृतिक संवाद, विविधताको सम्मान र सहिष्णुताको भावना विकास गर्न सके भविष्यमा शान्तिपूर्ण र समावेशी समाज निर्माणमा सकारात्मक योगदान पुग्ने राष्ट्रसङ्घको विश्वास छ।
अन्तर्राष्ट्रिय मित्रता दिवस संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणासँग पनि जोडिएको छ। युनेस्कोले हिंसालाई अस्वीकार गर्दै संवाद, आपसी सम्मान र सहकार्यका माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्नेमा निरन्तर जोड दिँदै आएको छ।
यस वर्ष पनि मित्रता, पारस्परिक सम्मान र विविधताको स्वीकारमार्फत शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणको सन्देशका साथ विश्वभर यो दिवस मनाइँदै छ।l


















