देवानगञ्जको अवस्था सामान्य बन्दै, कर्फ्यु भने अझै कायम

काठमाडौं: सुनसरीको देवानगञ्जमा चार दिनअघि भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव क्रमशः साम्य हुँदै गएको छ।

प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्दै गए पनि प्रशासनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कर्फ्यु आदेश भने यथावत् राखेको छ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार देवानगञ्ज, हरिनगर, इनरुवा, भोक्राहा नरसिंह र कोशी क्षेत्रमा बुधबारदेखि शान्ति कायम हुन थालेको छ भने बिहीबार बिहानदेखि अवस्था थप सुधार भएको छ। उनका अनुसार पूर्व–पश्चिम राजमार्गमा भएका अवरोधसमेत हटाइएकाले आवागमन सहज बन्दै गएको छ।

गत साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच सुरु भएको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएको थियो। गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने कम्तीमा २१ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

घटनापछि प्रशासनले देवानगञ्ज र हरिनगर क्षेत्रमा कर्फ्यु लागू गरेको थियो। तनाव इनरुवा, कोशी र भोक्राहा नरसिंहसम्म फैलिन थालेपछि ती क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो। स्थिति नियन्त्रणका लागि नेपाली सेना समेत परिचालन गरिएको थियो।

यसबीच गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ। घटनालगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरीका स्थानीय प्रमुखको जिम्मेवारीसमेत परिवर्तन गरिएको थियो।
घटनापछि सामाजिक सद्भाव कायम गर्ने प्रयास पनि तीव्र बनेका छन्।

जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वदलीय बैठक बसेर शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान गरिएको छ। इटहरीमा नागरिक समाजको आयोजनामा सद्भाव र्‍यालीसमेत निकालिएको थियो।

प्रशासनले प्रभावित क्षेत्रमा अवस्था सामान्य बन्दै गए पनि पूर्ण रूपमा सहज वातावरण नबनेको भन्दै सुरक्षा सतर्कतालाई निरन्तरता दिएको जनाएको छ।