काठमाडौं: कपिलवस्तु नगरपालिका–७ धमौलीकी ३० वर्षीया सुत्केरी चनरमती यादवको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर कपिलवस्तु अस्पतालमा तनाव उत्पन्न भएको छ।
चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयवासीले अस्पताल तथा जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन्।
चनरमतीले साउन ७ गते कपिलवस्तु अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएकी थिइन्। शल्यक्रियापछि पिसाब फेर्न समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।
त्यहाँ चार दिनसम्म उपचारका क्रममा मिर्गौलामा समस्या देखिएपछि दुई पटक डायलासिस गरिएको थियो। उपचारकै क्रममा साउन १२ गते उनको मृत्यु भएको मृतकका श्रीमान् राजेश कुमार यादवले बताए।
राजेश यादवले कपिलवस्तु अस्पतालका चिकित्सकको लापरबाहीका कारण श्रीमतीको स्वास्थ्य अवस्था जटिल बनेर मृत्यु भएको आरोप लगाए। उनले उपचारका क्रममा अस्पतालका केही स्वास्थ्यकर्मीबाट दुर्व्यवहारसमेत भएको दाबी गरेका छन्।
घटनापछि मृतकको शव एम्बुलेन्समै राखेर अस्पताल र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरिएको थियो। प्रदर्शनकारीले दोषी चिकित्सकमाथि कारबाही, निष्पक्ष छानबिन र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।
यता कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले भने शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको र पिसाब फेर्न समस्या देखिएपछि थप उपचारका लागि रिफर गरिएको बताए।
मेडिकल कलेजमा उपचारका क्रममा मिर्गौलासम्बन्धी समस्या देखिएको र त्यसपछि बिरामीको निधन भएको जानकारी प्राप्त भएको उनको भनाइ छ। उनले अस्पतालका चिकित्सकबाट कुनै लापरबाही नभएको दाबी गर्दै पोस्टमार्टम प्रतिवेदनपछि थप प्रक्रिया अघि बढाइने बताए।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। घटनाका विषयमा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच छलफल भएपछि मृतकका श्रीमान्ले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार उजुरी मेडिकल काउन्सिलमा पठाइसकिएको छ। काउन्सिलको छानबिन प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।
साथै मृतकका श्रीमान्लाई कपिलवस्तु अस्पतालमा रोजगारीका लागि प्राथमिकता दिने विषयमा पनि सहमति भएको उनले जानकारी दिए।


















