विमानस्थलबाट बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं: बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पलकाभ्रेका ४० वर्षीय रामबहादुर थापा सिमराबाट काठमाडौं आउने क्रममा विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ परेका हुन्।

थापाविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोकमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि उनी फरार सूचीमा रहेका थिए।

विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेका थापालाई हाल थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ।

थापालाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय नवलपुर पठाउने तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।