काठमाडौं: गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान पूरा गरेको छ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा सिरहा पुगेको समितिले तीन दिनसम्म घटनास्थलको स्थलगत निरीक्षण, तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गरेको थियो। प्रारम्भिक अनुसन्धान सकेर समिति काठमाडौं फर्किएको हो।
समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार टोलीले विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, स्थानीय समुदाय, प्रत्यक्षदर्शी, सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी घटनासम्बन्धी आवश्यक जानकारी संकलन गरेको छ।
टोलीले आन्दोलनका क्रममा घाइते भएकालाई धरान पुगेर भेटेर स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार घाइतेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ।
समितिले तोकिएको समयसीमाभित्र गृह मन्त्रालयमा घटनासम्बन्धी विस्तृत प्रतिवेदन बुझाउने जनाएको छ।
यसअघि समितिले सोमबार घटनास्थलको निरीक्षण गरेको थियो।
मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सहभागी हुँदै टोलीले राजनीतिक दलका प्रतिनिधिबाट घटनाबारे थप जानकारी तथा सुझावसमेत संकलन गरेको थियो।




















