जटिल लिखित फाराम हटाउँदै भूमि प्रशासन, सेवाग्राहीले आफैँ भर्न सक्ने

काठमाडौं: भूमि प्रशासन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले आफैँले बुझेर फाराम भर्न सक्ने गरी सरकारले लिखित फारामहरू सरल बनाउने भएको छ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल प्रयोगमा रहेका लिखित फारामको अध्ययन गरी सरलीकरण गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिले देशभरका भूमि प्रशासन कार्यालयमा प्रयोग भइरहेका फारामको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा बुझ्न र आफैँ भर्न सक्ने गरी आवश्यक सुधार गर्नेछ। समितिले फाराम सरलीकरणसम्बन्धी प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्नेछ।

मन्त्रालयका अनुसार हालका फाराम जटिल हुँदा कतिपय सेवाग्राहीले अरूको सहयोग लिनुपर्ने अवस्था छ। यस्तो बाध्यता हटाउँदै सेवाग्राहीलाई आफैँ फाराम भर्न सक्ने वातावरण बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

समितिको प्रतिवेदन प्राप्त भएपछि सरलीकृत लिखित फाराम कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ।