पाथीभराको टीका–प्रसाद अब हुलाकमार्फत घरमै

ताप्लेजुङ: पाथीभरा मन्दिरको दर्शन गर्न नसक्ने भक्तजनले अब घरमै टीका–प्रसाद प्राप्त गर्न सक्ने भएका छन्।

ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिरको टीका–प्रसाद हुलाकमार्फत देशका विभिन्न जिल्लामा पठाउने व्यवस्था सुरु गरिएको हो।

पाथीभरा क्षेत्र विकास समिति र जिल्ला हुलाक कार्यालय ताप्लेजुङबीच बिहीबार टीका–प्रसाद हुलाकमार्फत पठाउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङ र जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख हेमनाथ पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यान्वयनको सुरुवात गर्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले पहिलो सेवाग्राहीका रूपमा पाथीभरा मन्दिरको टीका–प्रसाद धनुषा पठाएका छन्।

दाहालका अनुसार हिमाली जिल्ला ताप्लेजुङबाट मधेस प्रदेशको धनुषामा पाथीभरा मन्दिरको प्रसाद पठाउँदा धार्मिक तथा सामाजिक सद्भाव र भ्रातृत्वको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ। धनुषामा प्रसिद्ध जानकी मन्दिर रहेकाले यसले भविष्यमा विभिन्न जिल्लाका प्रसिद्ध मठमन्दिरको प्रसाद एकअर्का स्थानमा हुलाकमार्फत पठाउने आधारसमेत तयार गर्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार माग भएमा पाथीभरा क्षेत्र विकास समितिले भक्तजनलाई टीका–प्रसाद उपलब्ध गराउनेछ। मन्दिरमा उपलब्ध प्रसादबाट व्यवस्था गर्न नसकिने अवस्थामा खरिद गरेर मन्दिरमा चढाउनुपर्ने भए त्यसको खर्च मागकर्ताले नै बेहोर्नुपर्नेछ।

प्रसाद पठाउँदा लाग्ने हुलाक शुल्क पनि मागकर्ताले क्षेत्र विकास समितिमार्फत हुलाक कार्यालयमा बुझाउनुपर्नेछ। सेवाग्राहीले प्रसाद तथा हुलाक शुल्कलगायत लाग्ने खर्चबारे समितिसँग सम्पर्क गरी जानकारी लिन सक्नेछन्।

तर झोलिलो, तैलिय, टुटफुट हुने, धारिलो तथा तापक्रमका कारण असर पर्ने सामग्री भने हुलाकमार्फत पठाउन नपाइने व्यवस्था गरिएको छ।