काठमाडौंः पोखरामा आगोको लप्काले घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
पौडेलको घाँटी र गालामा आगोले पोलेको छ।
हाइड्रोजन ग्यास भरिएको बेलुन पड्किँएर आगो लागेको थियो। बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो।
घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
शनिबार पोखरा महानगरले सुरु गर्न लागेको पर्यटन वर्षको उद्घाटन सत्रमा बेलुन उडाउन खोज्दा आगोको झिल्का उठेको थियो। सोही आगोको लप्काबाट अर्थमन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए।



















